पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् ।
यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार निर्माणको काम शुरु भइसकेको छ ।
कम्पनीले केबलकारमा स्थानीयका लागि रु ११ करोड २० लाखको शेयर छुट्याएको छ । पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् ।
डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ ।
५६ करोडको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करीब १५ महीनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।