बहुराष्ट्रिय कम्पनी ‘हेड एन्ड सोल्डर’को स्याम्पु र बिएमसी मसलाको नक्कली उत्पादन कार्यमा नेपालस्थित उनीहरूकै आधिकारिक विक्रेताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार चन्द्रागिरि–१५ नैकापमा एन्टी डेन्ड्रफ स्याम्पु ‘हेड एन्ड सोल्डर’ र बाबा मसला कम्पनीको उत्पादन ‘बिएमसी’ मसलाको अवैध उत्पादन गर्ने कारखाना फेला पारेको थियो।
कारखाना सञ्चालक दम्पती वासुप्रसाद बिडारी र ज्योति बिडारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएका थिए। प्रहरीका अनुसार उपत्यकामा उपलब्ध हेड एन्ड सोल्डरका सबै स्याम्पु सोही कम्पनीबाट उत्पादित नक्कली रहेको खुलेको छ।
‘हेड एन्ड सोल्डर’को नेपालमा आधिकारिक विक्रेता विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिस्ट्रिब्युटर हो। त्यस्तै, बाबा मसला कम्पनीको उत्पादन बिएमसी मसला पनि भारतीय कम्पनी नै हो। नेपालमा यसका विक्रेता कम्पनी धेरै छन्। त्यसमध्ये धेरै बिक्रीकर्ता काठमाडौं भेराइटी हो। प्रहरीका अनुसार त्यसमध्ये विक्रेता कम्पनीका एक सदस्य सुरेन्द्र तिमल्सिना यस कार्यमा संलग्न रहेको पक्राउ परेका बिडारी दम्पतीको बयानबाट खुलेको छ।
परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ परेकाहरूको बयानबाट केहीको नाम खुलेको जानकारी दिए। उनले भने, ‘नक्कली स्याम्पु र मसला उत्पादन कार्यमा संलग्न केही पक्राउ परेका छन्। उनीहरूको बयानबाट केही अन्यको नाम पनि खुलेको छ। तीमध्ये केही डिस्ट्रिब्युटर छन्। उनीहरूको खोजी भइरहेको छ।’
प्रहरीले कारखानाबाट करिब ५० लाख रुपैयाँ मूल्यबराबरको उत्पादन र त्यसका कच्चापदार्थ बरामद गरेको छ। जसमा ४४ कार्टुन बिएमसी मिट मसला, सय केजी मसलाका कच्चापदार्थ, मसला प्याक गर्ने प्लास्टिक, २ सय ५० कार्टुन तयारी मसला, ३ सय ७० कार्टुन तयारी स्याम्पुलगायत छन्। प्रहरीका अनुसार उनीहरूले प्रत्येक महिना कारखानाबाट उत्पादित डेढ करोड रुपैयाँ मूल्यबराबरको उत्पादन बिक्री गर्दै आएका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ।