बाँकेमा रहेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जको कार्यक्षेत्र घटेको छ । पहिले साविकको मध्य र सुदूरपश्चिम विकास क्षेत्रका १० जिल्ला कार्यक्षेत्र रहेको थियो । नेपालगन्ज मातहत सुर्खेतमा रहेको करदाता सेवा कार्यालयलाई सरकारले स्तरोन्नती गरी आन्तरिक राजश्व कार्यालय स्थापना गरेपछि नेपालगन्जको कार्यक्षेत्र घटेको हो ।
कर संकलनमा सहजता र करदाताको पनि सहज पहुँच होेस् भन्ने उद्देश्यले सुर्खेतको करदाता सेवा कार्यालयलाई स्तरोन्नती गर्ने निर्णय सरकारले गत आर्थिक बर्षमा नै गरेको थियो । गत असोज १७ गते सुर्खेतमा औपचारिक रुपमा आन्तरिक राजश्व कार्यालयको उद्घाटन गरिएको थियो । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले सुर्खेतमा नै आन्तरिक राजश्व कार्यालय स्थापना भएपछि ३१ हजार करदाता सुर्खेत मातहत गएको जानकारी दिए ।
यस कार्यालयको कार्यक्षेत्र अहिले बाँके र बर्दिया जिल्ला मात्र रहेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले यस बर्षका लागि निर्धारण गरिएको कर लक्ष्य एक अर्ब बढी घटाइएको छ । चालु आ.व. ०७५,०७६ का लागि ४ अर्ब ५७ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । कार्य क्षेत्र घटेसँगै अब ३ अर्ब ५१ करोड ३९ लाख ७८ हजार संकलनको लक्ष्य निर्धारण भएको छ प्रमुख कर अधिकृत पौडेलले भने । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा चालु आ.व.को तीन महिनामा १ हजार बढी करदाता थपिएका छन् ।
कार्यालयका कर अधिकृत दिपक पौडेलका अनुसार, १ हजार ३ सय ५७ करदाता थपिएका हुन् । जसमध्ये आयकर दर्ता १ हजार ६०, पान ३ सय ९७ रहेका छन् । कर अधिकृत पौडेलले करमा दर्ता भएर व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।