बाँकेको नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटके बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग।
उनी भन्छन्, ‘यहाँको मनोरम दृश्य, थारु संस्कृति, थारु परिकार साह्रै राम्रो लाग्छ। नेपालगञ्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ। प्राकृतिक सौन्दर्यता मनमोहक छ।’ आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने अधिकारी ग्रामीण पर्यटनको प्रवद्र्धनका लागि सबैको साथ चाहिने बताउँछन्। उनी भन्छन्, ‘म प्रकृतिलाई माया गर्छु।’
छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ।
‘मानसिकरूपमा बोझ बढेका बेला यहाँ आउँदा आनन्द हुन्छ,’ नेपालगञ्ज–५ का दीपक शाही भन्छन्, ‘हामी निम्नवर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो। म यहाँ धेरै पटक साथीसँग आएको छु।’
थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्यालीको होमस्टेमा दैनिक करीब कम्तिमा १ सय ५० पर्यटक पुग्ने गरेका छन्। नेपालगञ्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाएपछि आन्तरिक पर्यटक त्यहाँ पुगेर रमाउने गरेका हुन्।
चारैतिर घना जंगलले घेरिएको गाभर भ्याली अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त भएको बताउँछन्, नेपालगञ्जका व्यवसायी गोकर्ण न्यौपाने। न्यौपानेले वन विज्ञान तथा संस्कृतिसम्बन्धी अध्ययनरत विद्यार्थीको अध्ययनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
पर्यटकको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकसमेत होमस्टेको स्तरवृद्धि गर्न तल्लिन छन्। वातावरण संरक्षणकर्मी अध्यक्ष हेमन्तराज काफ्लेले गाभर क्षेत्र प्रकृतिकै बरदान रहेकाले अब थोरै मात्र व्यवस्थापन गर्न सके मध्यपश्चिमकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए।
विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ। गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीले पर्यटक आगमन वृद्धिसँगै होमस्टेको संख्या बढाउने तयारी गरिरहेको जानकारी दिए।
चार वर्षअघि एउटा घरबाट शुरु गरेको होमस्टेको संख्या हाल आठ पुगेको छ भने ४० जनालाई एकैपटक बास बसाउन सकिने गरी कोठा व्यवस्थापन गरिएको छ।
गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्वीट्जरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइनलगायतका विभिन्न मुलुकबाट हालसम्म दुई सय बाह्य पर्यटकले भ्रमण गरिसकेका छन्। अधिकांश बाह्य पर्यटक अध्ययन अनुसन्धानका लागि आउने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ।