अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् ।
वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै राष्ट्र बैैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याजदरमा भइरहेको प्रतिस्पर्धा राम्रो नभएको बताए । ‘केन्द्रीय बैंकले बारम्बार सचेत गराउँदा पनि तपाईंहरू सचेत हुनुभएन, केन्द्रीय बैंकलाई जिस्क्याउनुभएको छ,’ उनले भने, ‘ब्याजदरमा सिरियस नभए भोलि नै राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्यस्तो वेला आश्चर्य नमान्नुहोला ।’
नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदरमा कायम गरेको भद्र सहमति सोमबारदेखि हटाएपछि बैंकहरूले निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्याएका छन् । वाणिज्य बैंकहरूले आपसी भद्र सहमति तोड्दै धमाधम ब्याजदर बढाउन थालेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा कार्टेल गर्ने किसिमका गतिविधि नगर्न बैंकरहरूलाई चेतावनी दिएका छन् । ‘विद्यमान प्रतिस्पर्धा प्रवद्र्धन ऐनविपरीत ब्याजदरमा कार्टेल गरेको पनि देखिएको छ, फाइनान्सियल कार्टेलिङ नगर्नुहोस्,’ उनले भने, ‘तर, छाडा पनि नहुनुहोस् ।’ नयाँ पत्रिका दैनिकमा खबर छ।