रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन्। जिल्लाको महाशिला गाउँपालिका-५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन्।
आठ रोपनी जमीनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र दुई लाख रूपैयाँ कमाउन सफल भएका छन्। उनले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताए। परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उनको योजना छ।
गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो। पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयान हुनेक्रम घट्दै गएको छ।
खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गरे। अहिले अकबरे खुर्सानी मात्र लगाएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्ने बताए। यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसकेका छन्।
युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला–५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताए। उनले भने,'तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान शुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दैछ। यो खुशीको कुरा हो।'