चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले सोमबार सिंहदरबारमा रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएका हुन्।
रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ पक्षले अध्ययन प्रतिवेदन बुझाएको जानकारी दिँदै आगामी दिनमा के कसरी रेलमार्ग अगाडि बढाउने भन्ने विषयमा छलफल हुनेछ । नेपाल–चीन रेल्वे को–अपरेशन समितिको सोमबारदेखि नै सुरु भएको छ । समितिको बैठकका नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु, विभागका महानिर्देशक बलराम मिश्र र अन्य प्राविधिक कर्मचारीको समेत सहभागिता रहेको थियो ।
बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनमा आधारित भएर विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको मार्ग्दिशा तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको थियो । चिनियाँ प्राविधिकसहितको टोलीले रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्नेसमेत कार्यक्रम तय गरेको छ ।
चिनियाँ प्राविधिक टोली मङ्गलबार रसुवाको स्थलगत भ्रमणमा जानेछ भने बुधबार काठमाडौँ–पोखरा रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्न पोखरा जाने तयारी गरेको छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।