नेपाल आयल निगमको विराटनगर डिपोमा चार महिना अवधिमा करिब डेढ करोड रुपैयाँको डिजेल चुहावट र ट्यांकरबाट तेल चोरी हुँदा निगम नेतृत्व मूक दर्शक बनेको छ। विवादित छवि भएका निगमका विराटनगर डिपो प्रमुख दिनेश यादवलाई कारबाही गर्न सञ्चालक समिति सदस्यले कुरा उठाए पनि कारबाही प्रक्रिया अघि बढेको छैन।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल ल्याउँदा डिपोकै कर्मचारीको मिलेमतोमा २५ सय लिटर तेल चोरी भएको थियो। निगम छानबिन समितिले तयार गरेको प्रतिवेदनमा ‘मिलेमतोमा डिजेल चोरी’ भएको प्रतिवेदन पेस गरे पनि निगम नेतृत्व मौन बसेको छ।
गत वर्षको तुलनामा दोब्बर बढी प्राविधिक नोक्सानी (चुहावट) हुँदा पनि डिपो प्रमुखलाई कारबाही नगर्नुले व्यवस्थापनको समेत मिलेमतो हुन सक्ने निगम सञ्चालक समितिका एक सदस्यले बताए। ‘डिपो प्रमुखलाई कारबाही गर्नुपर्छ भनेर बैठकमा कुरा उठायौं,’ ती सदस्यले भने, ‘तर करोडौंको चुहावट र तेल चोरी हुँदा पनि नेतृत्व मूकदर्शक बनेको छ।’
ट्यांकरमा लक लगाएपछि चुहावट नियन्त्रण हुनुपर्ने भए पनि गत वर्षको तुलनामा घाटा दोब्बर बढेको छ। गत वर्ष कात्तिकसम्म डिजेलको प्राविधिक नोक्सानी (चुहावट) ०.१९ प्रतिशत रहेकोमा अहिले बढेर ०.४१ पुगेको छ।
स्रोतका अनुसार चुहावट र सेटिङमा भएको तेल चोरीका विषयमा डिपो प्रमुख यादवलाई कारबाही स्वरूप केन्द्रमा तान्ने तयारी भए पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव डिपो प्रमुख यादवको बचाउमा लागेका कारण कारबाही हुन नसकेको हो। नागरिक दैनिकमा खबर छ।