विराटनगर विमानस्थलबाट प्रादेशिक, अन्तरप्रादेशिक र अन्तरदेशीय उडान हुने भएकाे छ। विमानस्थलको आवश्यक भौतिक पूर्वाधार विस्तार तथा स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थलको रुपमा विराटनगरबाट उडान सुरु गरिने भएको हो ।
नागरिक उड्डन प्राधिकरणको २० औं वार्षिक उत्सवको अवसरमा विराटनगर विमानस्थले विराटनगरमा साेमबार आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चाँडैनै यसको लागि प्रक्रिया बढाउन संघीय सरकारसँग प्रस्ताव गर्ने हुनु भएको छ ।
वार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिदैं मुख्यमंत्री राईले संघीय सरकारको मातहतमा रहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत प्रदेश १ भित्र रहेको देशै दोस्रो ठूलो विमानस्थलबाट ३ प्रकारका उडान गराउने दावी गरे ।
मुख्यमन्त्री राईले प्रधानमन्त्रीसँग यस विषयमा एकहप्ता भित्रै प्रदेश सरकारको प्रस्ताव पेश गर्ने तयारीमा रहेको बताए। प्रदेश मन्त्रीपरिषद्को बैठकले यस अगाडि नै विमानस्थललाई ३ हजार मिटरमा विस्तार गर्नका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिसकेको छ ।
उक्त निर्णयसहित विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट बिनियोजनको खाका संघीय मन्त्रीपरिषद्मा लैजान प्रधानमन्त्रीसँग प्रस्ताव लिएर मुख्यमन्त्री राई जाने भएका छन् ।कार्यक्रममा मुख्यमन्त्री राईले समृद्धिको एउटा आधारको रुपमा रहेको विमानस्थल विस्तारमा प्रदेश सरकारको समेत चासो रहेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दिर्घकालिन योजनामा राखेर भन्दा तत्काल गर्नुपर्ने योजनामा पारेर काम थाल्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले प्रदेश भित्रका १३ जिल्लामा विराटनगरबाट सोझो उडानले जोड्न आवश्यक रहेको, अन्तर प्रादेशिक उडानबाट प्रदेशलाई जोड्न आवश्यक रहेको र अन्तरदेशीय उडान जरुरी रहेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आवश्यकता अनुसार यसको विस्तारको हुनुपर्ने औल्याए ।नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिक उत्सव कार्यक्रममा विराटनगर शाखाका प्रवन्धक टेकनाथ सिटौलाले विस्तारका लागि पूर्व विस्तृत अध्ययन प्रतिवेदन तयार भएको र विस्तृत परियोजना प्रतिवेदनसहित गुरुयोजनाको काम अगाडी बढ्ने चरणमा रहेको बताए।