कतार सरकारले पुस १८ देखि आफ्नै म्यानपावर कम्पनी सञ्चालन गरेको छ। ‘वाजा’ नामक सो कम्पनीबाट अब कतारले आवश्यक विदेशी श्रमिक आफै भर्ना गर्नेछ।
कतार जाने श्रमिकको भर्ना प्रक्रियामा ठगी, करारपत्रमा छली, तलबबिनै काम, अनुपयुक्त वासस्थान, श्रमिकबाट रकम असुलीलगायतका समस्याबाट हुने हैरानी रोक्न कतारी उद्योग तथा व्यापार मन्त्रीको निर्णयमा कम्पनी सञ्चालनमा आएको हो।
यसअघि झण्डै २ सयभन्दा बढीले सम्बद्ध देशका म्यानपावरसँग समन्वय गरी श्रमिक लैजाने गरेकोमा अब ‘वाजा’ले नै रोजगारदातालाई आवश्यक श्रमिक उपलब्ध गराउनेछ। कम्पनीको शाखा कार्यालय विभिन्न स्रोत देशमा राखिने र नेपालमा पनि कार्यालय स्थापनाका लागि तयारी भइरहेको खबर कान्तिपुरमा छ।