सरकारले नेपालमा २ सय ५ सय र २ हजार दरका भारतीय नोट खुला गर्न भारत सरकारसँग आग्रह गरेकाे छ। नेपाल राष्ट्र बैंकले भारतको रिजर्भ बैंक अफ इन्डिया ( आरबिआई) लाई शुक्रबार पत्राचार गर्दै ठूला दरका भारु नोट खुला गरिदिन आग्रह गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ कात्तिक ०७३ मा सम्बोधन गर्दै ५ सय १ हजार दरका नोटमा प्रतिबन्धकाे घाेषणा गरेका थिए। त्यसको भोलीपल्ट २४ कात्तिक ०७३ देखि नेपालमा पनि भारु ५ सय र १ हजार दरका नोट प्रतिबन्ध भयो। त्यसयता नेपालमा भारु १ सय र त्यसभन्दा कम दरका नोट मात्रै चलनचल्तीमा रहेका छन्।
नेपाल सरकारको निर्देशनअनुसार आरबिआईलाई पत्राचार गर्दै नेपालमा २ सय, ५ सय र २ हजार दरका भारु खुलाउन आग्रह गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताउनुभयो।
भारतीय नोटबन्दीपछि प्रयोगमा ल्याएको २ सय, ५ सय र २ हजार दरका भारु नोटलाई नेपालका लागि खुला गरिएको छैन। ‘भारतीय सरकारको नीतिगत नियर्णपछि आरबिआइले सूचना जारी गर्दै नेपालमा भारु नोट खुला गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै नयाँ नोट चलनचल्तीमा आउन सक्छ ‘।
मन्त्रिपरिषद्ले एक महिनाअघि मात्रै नेपालमा २ सयभन्दा भन्दा बढी दरका नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको थियो। तर, ठूला दरका भारु नोट प्रतिबन्ध हुँदा व्यवसाय प्रभावित हुनुका साथै दुवै मुलुकका नागरिकलाई समस्या पर्ने भन्दै सरोकारवालाले खुला गर्न आग्रह गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।