धर्तीपुत्रका रुपमा परिचित चितवनका थारु समुदायले सञ्चालन गर्ने ‘छैटाैं खिचरा महोत्सव आजदेखि शुरु हुँदैछ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गरेको सो महोत्सवको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिए।
यसवर्ष महोत्सव परिसरमा चिटिक्क परेको थारु मिनि गाउँ निर्माण गरिएको छ। महोसव उद्घाटन पूर्व पर्सा बजारको मगनि चोकमा जम्माभई पर्साको चौबिसकोठी, पुरानो पर्सा हुँदै महोत्सव परिसर सम्म वृहत शोभायात्रा निकालिने आयोजकले जानकारी दिएको छ।
शोभायात्रामा विभिन्न जातजातिका झाँकी, संघसंस्था, आमा समुह, टोल बिकास संस्था, क्लव लगाएतका संघसंस्थाहरुको सहभागिता रहने शेभायात्रा व्यवस्थापन समितिकी संयोजक कौशिला चौधरीले जानकारी दिइन्।
महोत्सवलाई लक्षित गरी नयाँ पर्सा र पुरानो पर्सा बजार ध्वजा पतकाले सिंगारिएको छ। ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा महोत्सव माघ ८ गतेसम्म चल्ने छ।
महोत्सवमा थारु खानाका परिकारका स्टल लगाएत २ सय स्टल रहेका छन्। महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुनेछ।
यस वर्षको महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने महोत्वसवमा करिव १ करोडको कारोबारहुने आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले बताए।
महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि ( परिचय पत्रका आधारमा) ३० रुपैयाँ टिकट लाग्ने जनाइएको छ। साथै ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई निशुल्क अबलोकन गर्न व्यवस्था गरिएको छ।