काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालन गरिरहेको इँटाभट्टा उद्योग आगामी २०७६ असार मसान्तभित्रमा हटाउने सम्झौता भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच धुलिखेलमा भएको छलफलपछि त्यहाँबाट इँटाभट्टा हटाउने विषयमा आठबुँदे सम्झौता भएको हो ।
यसअघि नगरपालिकाले वातावरण प्रदूषण बढ्दै गएको कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न र जग्गादातालाई पनि जग्गा उपलब्ध नगराउन तथा व्यवसायीलाई इँटा नबनाउन आग्रहसहितको सूचना जारी गरी अभियान नै थालनी गरेको थियो । तर पनि व्यवसायीले उक्त सूचनाको अवज्ञा गर्दै इँटाभट्टा सञ्चालन गर्दै आइरहेका थिए ।
शनिबार भएको छलफलमा भने दुवैपक्षबीच सम्झौता नै गरी त्यहाँबाट हटाउने विषयमा सहमति भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले लामो समयसम्म अल्झिरहेको विषयलाई टुङ्गोमा पु–याउन सफल भएको जानकारी दिए । सम्झौता कसैको जित र हारभित्र नपरी समृद्धिको नाराभित्र परेको र त्यसले नगरको समग्र विकासको कार्यमा थप सहयोग पुग्ने बताए।
काभ्रे इँटा व्यवसायी सङ्घका अध्यक्ष जीतेन्द्र खैमलीले उद्योग बन्द नगर्न आग्रह गरेको भए पनि नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रहलाई बुझेर सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुपरेको बताए । “उद्योग बन्द हुँदा त्यसले समुदायलाई नै असर पार्नेछ, उद्योगले चार हजार मजदूरलाई रोजगारी दिएको कारण अरु ठाउँमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ”, उनले भने।
सो क्रममा भकुण्डेबेँसीका किसान इन्द्रप्रसाद सापकोटाले नगरपालिका र इँटा व्यवसायीसँग सम्झौता गर्दा किसानले नगरपालिकासँग गरिएको २१ बुँदै सहमति पत्रलाई सम्बोधन गर्न बिर्सन नहुने बताएका थिए। भकुण्डेबेँसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उद्धवप्रसाद काफ्लेले डिप बोरिङबाट ६ सय घरधुरीलाई वितरण गर्दै आएको पानी इँटाभट्टाले गरेको डिप बोरिङका कारण सुक्न गएको बताए।
त्यसको लागि अहिले रोशीखोलाबाट पानी तान्नको लागि बाध्य भएको र त्यसको लागि प्रक्रिया अगाडि बढाएको बताउँदै नगरपालिकाले खानेपानीको विषयमा सम्झौतापत्रमा उल्लेख गर्नुपर्ने माग गरेका थिए।