आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि स्वीस बैंकमा आफ्नो खाता नभएको र कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको दाबी गरेका छन्।
साथै, आफ्नो समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको अध्यक्ष ढकालले स्पष्ट पारेका छन्।
सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म (सिआईजे) नेपाल मार्फत तयार गरी सञ्चार माध्यममा बुधबार सार्वजनिक समाचारमा आफ्नो पनि नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको ढकालद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। कानुनले दिएका अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर आफूमाथि भ्रम सिर्जना गर्ने काम भएको उनले उल्लेख गरेका छन्।
बेलायत लगायत अन्य देशबाट पनि कारोवार गर्न १७ जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेड (पछि इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेड) स्थापना भएको भन्दै ढकालले नेपालीको बाहुल्यता रहेका देशमा विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको स्पष्ट पारेका छन्।
यी कम्पनी स्थापना गर्न नेपालबाट लगानी बाहिर नलगेको भन्दै उनले बेलायतमा उपलब्ध साधारण स्रोत प्रयोग गरी सोही कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका जनाएका छन्।
कम्पनी सुरुवात गरेपछि आफू सो कम्पनीको सञ्चालक बनेको भए पनि २० जुलाई २०१० मा राजीनामा दिएको उनले प्रष्ट पारेका छन्।
गैरआवासिय नेपाली भाई हेमराजले सन् ९० को दशकदेखि जापान,मलेसिया, बेलायतलगायतका देशमा आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएको भन्दै अध्यष ढकालले नेपालको कानुनले गैरआवासिय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज नलगाएको बताएका छन्।
कम्पनीमा संलग्न कमल पौडेल र अनिल कुमार लामिछाने नेपाली भए पनि उनीहरुको अहिलेको राष्ट्रियता बेलायती भएको उनले उल्लेख गरेका छन्। यो बास्तबिकतालाई भुलेर सिआइजे नेपालले गलत समय र सन्दर्भ पारेर आफूहरुमाथि भ्रम सिर्जना गर्न लागेको अध्यक्ष ढकालले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।