पाल्पाको रामपुरमा चलेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा चार करोडभन्दा बढीको कारोवार भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलाको बिहीबार सातौँ दिनसम्म आइपुग्दा चार करोड १९ लाख बराबरको कारोवार भएको आर्थिक प्रतिवेदन उपसमितिका संयोजक सूर्यप्रसाद श्रेष्ठले बताए।
मेला अवधिभर रु आठ करोडदेखि दश करोडसम्म कारोवार गर्ने र एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने सङ्घको लक्ष्य रहेको छ । मेलामा मगर भेषभूषा, तामाका भाडा, अल्लोबाट उत्पादित झोला, फलामका सामान, कृषिजन्य वस्तु विशेष आकर्षणको रुपमा रहेको छ ।
रामपुरमा पहिलो पटक प्याराग्लाइडिङ उडानसमेत गरिएको छ । दैनिक कलाकारको साङ्गीतिक प्रस्तुतिले महोत्सव प्राङ्गणमा दर्शकको बाक्लो उपस्थिति बढिरहेको छ । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायतका विभिन्न जिल्लाका दर्शकले मेला अवलोकन गरिरहेका छन् ।
उद्योण वाणिज्य सङ्घको भवन निर्माण, कालीगण्डकी उपत्यकाको पर्यटन विकास, घरेलु, स्थानीय, कृषिजन्य वस्तुको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको हो । मेलामा व्यापारिक, होटल तथा रेष्टुरेण्ट, अटोमोबाइल्स, फोटो प्रदर्शनी गरी करीब २५० वटा कक्ष रहेका छन् । मेला आउँदो माघ ८ गतेसम्म चल्नेछ ।