सरकारले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगकाे ठेक्का रद्द गर्ने घोषणा गरेको छ । काममा फर्कनुकाे सट्टा नयाँ नयाँ माग अघिसारेर बसेपछि सरकारले आइतबार ठेक्का रद्द गरेको पत्र जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।
पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएपछि मेलम्ची अायाेजना अलपत्र भएकाे छ । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो ।
क्रिसमस मनाएर काममा फर्किने सहमति गरेको निर्माण व्यवसायी एक महीना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने विषयमा परामर्शदातालगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल भएकाे समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
पछिल्लो समय सुरुङ ‘फिनिसिङ’ काम अन्तिम चरणमा पुगेको थियो । यसबीचमा निर्माण व्यवसायी नै हिँडेपछि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७.५ किमी सुरुङ निर्माण गरी मेलम्ची खोलाको पानी राजधानीमा ल्याउने अन्तिम समयमा एक महीनादेखि काम हुन सकेको छैन ।