ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जनताको जलविद्युत आयोजनामार्फत हरेक नेपालीले फाइदा लिन सक्ने गरी कार्यक्रम अघि बढाइएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा संसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले ३५ सय मेघावाट जनताको लगानीका लागि छुट्याएको भन्दै राम्रा आयोजनामा जनताको लगानी गरिने बताए। नेपाल विद्युतमा आत्मनिर्भर हुन धेरै दिन बाँकी नरहेको भन्दै मन्त्री पुनले बढी भएको विद्युत छिमेकी राष्ट्रमा बिक्रि गरिने जानकारी दिए।
जिमआरको विषयमा सरकारले उपयुक्त निर्णय गर्ने उनले जानकारी दिए। आगामी तीन वर्षमा तीन हजार मेघावाट विद्युत आउने गरी निर्माण कार्य अघि बढिरहेको भन्दै उनले १५ हजार मेघावाट विद्युत निकाल्न सरकारले दीर्घकालिन सोचबाट काम गरिरहरको जानकारी दिए।
अन्तरदेशीय प्रशारण लाइनमार्फत उत्तर र दक्षिणका दुवै छिमेकीसँग ऊर्जा सहकार्यसम्बन्धी सम्झौता गरेर दक्षिण एशियामा चाहेको समयमा बिक्रि तथा आयात गर्ने वातावरण बनाउने गरी अगाडि बढाइएको भन्दै मन्त्री पुनले विद्युत क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर काम गरिरहेको बताए।