अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि जहाज ग्राउन्डेड गराइने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार यो हप्ताभित्र बक्यौता रकम नबुझाए अर्को हप्ताबाट जहाज ग्राउन्डेड गराइनेछ।
बक्यौता र विलम्ब शुल्क गरेर हिमालयले झण्डै २० करोड रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ। एअरलाइन्सले २०१८ जुलाइदेखि विमानस्थल प्रयोगबापतको शुल्क तिरेको छैन। बक्यौता २६ करोडभन्दा बढी पुगेपछि विमानस्थल कार्यालयको बारम्बार ताकेतापछि ६ करोड ४० लाख रकम बीचमा बुझाएको थियो।
बाँकी रकम पनि तिर्न ताकेता गरे पनि आनकानी गरेपछि विमानस्थल कार्यालयले एअरलाइन्सलाई पछिल्लो सयम बक्यौता बुझाउन माघ ४ गते एक महिनाको समय दिएर पत्राचार गरेको थियो। पत्रअनुसार फागुन ४ गते पनि बक्यौता चुक्ता नगरेपछि जहाज ग्राउन्डेड गर्ने चेतवानीसहित फेरि पत्राचार गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
‘यसपटक हामीले बक्यौता बुझाउन मात्रै भनेका छैनौं,’ विमानस्थलका महाप्रबन्धक क्षत्रीले भने, ‘जहाज ग्राउन्डेडसम्मको चेतावनी दिएका छौं।’ उनका अनुसार एअरलाइन्स कम्पनीले रकम बुझाउन प्रतिबद्धता गरिरहने तर, रकम नबुझाउने गर्दै आएको छ।
‘सोमबार पनि एअरलाइन्स कम्पनीले बक्यौता रकम चाँडै बुझाउने मौखिक प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘प्रतिबद्धता पूरा नगरे यो अन्तिम मौका हो।’ नागरिक दैनिकमा खबर छ।