तल्लो मोदीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ढिलाइ भएको छ।
असारभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्यसहित निर्माण थालिएको सो आयोजनाको काम मंसिरसम्म धकेलिएको छ। कुश्मा नगरपालिका–८ पराधिमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदीखोला स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले तोकेको समयमा सक्न ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए। पाँच वर्षभित्र उत्पादन शुरु गर्ने लक्ष्यका साथ सो आयोजनाको काम २०६९ साउनदेखि थालेको हो ।
'वर्षामा पहिरो जाँदा र भित्र बाढी पस्दा काममा बाधा पुग्यो,' प्रमुख यादवले भने। वर्षाका कारण आयोजनाको विद्युत्गृहमा काम गर्न समस्या भएको छ। करीब ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका प्रतिनिधि त्रैलोक्यराज चालिसेले बताउनुभयो । शुरुका वर्षमा भूकम्प र नाकाबन्दीका कारण काममा ढिलाइ भएको उनको भनाइ छ।
'कामलाई तीव्र पार्दैछौँ,' चालिसेले भने,'विद्यत्गृहसम्म पाइप विच्छ््याउने, टर्वाइन र जेनेरेटर जडानको काम भइरहेको छ।' तीन अर्ब ६० करोडमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना निर्माण अघि बढाइएको हो। आयोजनाबाट वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।