कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन्।
आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत छन्। शिक्षकको सङ्ख्या भने पाँचभन्दा बढी रहेको छ। एक शिक्षक बराबर ५० विद्यार्थी एउटा कक्षामा हुनुपर्नेमा पुरै विद्यालयमा बढीमा ४४ मात्रै विद्यार्थी छन्।
नगरपालिका शिक्षा शाखाको तथ्याङ्कअनुसार मिलन आधारभूत विद्यालयमा २५, त्रिमूर्ति आधारभूत विद्यालयमा ३१, जनचेतना आधारभूत विद्यालयमा ३६, दीपनगर आधारभूत विद्यालयमा ४४ र श्रीराम आधारभूत विद्यालयमा ३० मात्रै विद्यार्थी रहेका छन्। विद्यालय नजिकै निजी विद्यालय खोल्ने क्रम बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका हुन्।
अभिभावकको निजी विद्यालयप्रतिको बढ्दो आकर्षण घटाउनका लागि गुणस्तरमा ध्यान दिइनुपर्ने, खाजाको व्यवस्था गरिनुपर्ने र नियमित अनुगमन गरिनुपर्ने शिक्षक खड्क साउदले बताउनु्भयो। न्यून विद्यार्थी रहेका विद्यालयलाई समायोजनमा लैजानका लागि प्रक्रिया अगाडि बढाइने शिक्षा शाखाका प्रमुख देवदत्त पन्तले बताए।
शिक्षा ऐनको दफा १२ को (क)मा भएको व्यवस्थाअनुसार पूर्वाधार कायम नभएका, अधिकांश कक्षामा नियम ७७ बमोजिम विद्यार्थी सङ्ख्या नभएको र दुई वा दुईभन्दा बढी विद्यालय व्यवस्थापन समितिले एउटै विद्यालयका रूपमा सञ्चालन गर्न संयुक्त निवेदन दिएमा समायोजन गर्न सकिने व्यवस्था रहेको छ।
कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै छ उनले भने, “शिक्षक दरबन्दी न्यून छ। कुनैमा विद्यार्थी न्यून छन्। शिक्षक धेरै छन्। दरबन्दी र शिक्षकको अनुपात मिलाउनका लागि न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजनमा लैजानु नै उपयुक्त देखिन्छ।” शिक्षा ऐन आएपछि सबै प्रक्रिया अगाडि बढाइने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शिवराज पनेरुले भने। रासस