त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ।
नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको छ। त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन्।
आर्थिक वर्ष ०७५/०७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन्। त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका प्रश्न र जिज्ञासा अधिकांश परीक्षासँग सम्बन्धित छन्। ‘हेलो सरकार’का गुनासो परीक्षा नियन्त्रण कार्यालयमा पढाएर सम्बोधन भए पनि भने विद्यार्थीको गुनासा भने सम्बोधन भएका छैनन्।
त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्नुपर्ने धेरै गुनासा आएको बताइन्। अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्ने व्यवस्थाका लागि आफूले पहल गरेको उनको भनाइ छ। ‘अंग्रेजीमा सोधेर मात्र गुणस्तर बढ्ने होइन, दुवै माध्यममा प्रश्न सोध्नुपर्छ, सामुदायिकमा पढेर आएकाहरूले प्रश्न नबुझेर उत्तर लेख्न नसकेको पाइएको छ,’ उनले भनिन्। नयाँ पत्रिका दैनिकमा खबर छ।