सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था संचालन ऐन २०७५मा सो व्यवस्था गरिएको हो।
मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशःसम्बन्धित विषयमा कम्तिमा स्नातक र कम्तिमा स्नातकोत्तर हुनु उल्लेख गरिएको छ।
यस अघि विद्यालय क्षेत्र सुधार कार्यक्रम(एसएसडिपी) मा शिक्षकको योग्यताको विषय उठान गरेको थियो। पछिल्लो समय सामुदायिक विद्यालयको स्तर खस्कदै गएपछि सरकारले संघीय शिक्षा ऐन मार्फत यस्तो व्यवस्था गर्न लागेको हो। हाल प्रावि तहमा अध्यापन गर्ने शिक्षकको योग्यता एसएलसी, निमाविको लागि प्रविणता प्रमाणपत्र (हाल दश जोड दुई) र मावि तहको लागि स्नातक हुनेपर्ने व्यवस्था कायम गरिएको छ।
तर सरकारले गुणस्तर सुधार गर्न भन्दै ऐन मार्फत नयां व्यवस्था लागू गर्न लागेको हो। मस्यौदाको विषयमा मन्त्रालय स्तरमा छलफल चलिरहेको छ। उक्त ऐन कानुन र बजेट ब्यवस्थापनकालागि अर्थ मन्त्रालयको स्विकृत लिएपछि व्यवस्थापिका संसदबाट पारित गर्नपर्ने हुन्छ। नेपाल समाचार पत्र दैनिकमा खबर छ।