सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय तहले विद्यालय मर्जको काम सुरू गरेका छन्। कम विद्यार्थी भएका ठाउँमा धेरै शिक्षक रहेका सामुदायिक विद्यालयलाई मर्ज गर्न थालिएको हो।
सुर्खेतमा रहेका ९ वटा स्थानीय तहले बनाएको शिक्षा ऐन अनुसार शिक्षा शाखाले विद्यालयको अनुगमन गरी विद्यार्थीको संख्या कम भएका विद्यालयहरूलाई मर्ज गर्ने काम सुरू गरेको छ। जस अनुसार सुर्खेतको भेरीगंगा, गुर्भाकोट नगरपालिका, सिम्ता र चिंगाड गाउँपालिकामा न्यून विद्यार्थी भएका र नजिकै भएका विद्यालय मर्ज गरिएको छ। विद्यार्थी संख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा मर्ज गर्दा शिक्षकको संख्या बढ्ने र त्यसले विद्यार्थीको शैक्षिक गुणस्तर बढ्ने विश्वास लिइएको छ।
चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले चिंगाड गाउँपालिकाको हिलेखालीमा रहेको लालीगुराँस प्राविलाई सरस्वती प्रावि भर्जनी पाम्कामा गाभिएको बताए। विद्यालयमा पाँच वर्षदेखि न्यून विद्यार्थी रहेको र नजिकै अर्को विद्यालय भएकाले मर्ज गरिएको अध्यक्ष चन्दले बताए। विद्यालय मर्ज भएसँगै विद्यालयमा शैक्षिक अवस्था गुणस्तरीय हुनुका साथै विद्यालयको खर्च पनि कटौती हुने अध्यक्ष चन्दले बताए।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले विद्यालय मर्ज हुदाँ शिक्षक संख्यामा वृद्धि भएर पठनपाठनमा पहुँच बढ्ने र विद्यार्थीहरूलाई समय दिन सकिने बताए। उनले विकट क्षेत्रमा विद्यार्थी संख्या थोरै भएकाले विद्यालय मर्ज गर्दा विद्यार्थीहरूको पठनपाठनमा वृद्धि हुने बताए।
भेरीगंगा नगरपालिकाको भगवती प्राथमिक विद्यालय भैंसेलाई चन्द्रोदय आधारभूत विद्यालय काँसिपुरमा मर्ज गरिएको छ। यसैगरी दीपज्योति प्राथमिक विद्यालय कुइरेलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लोदेमा र भगवती प्राथमिक विद्यालयलाई शिखर माध्यमिक विद्यालय रामघाटमा मर्ज गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका विद्यालय निरीक्षक भोजराज लम्सालले विद्यालय मर्जले गर्दा विद्यार्थीको पढाइ पूरा हुने र विद्यालयको खर्च पनि घट्ने भउकाले विद्यालय मर्जको काम थालिएको बताए। उनले भने,‘विद्यार्थीहरूको न्यून संख्या र नजिकै विद्यालयहरू भएमा उनीहरूको भौगोलिक अवस्था हेरेर हामीले विद्यालय मर्ज गर्ने गरेका छौँ।’
लम्सालका अनुसार विद्यालय मर्ज गर्नुलाई शिक्षामा विकासको सुरूवात भएको मानिएको छ। विद्यालय मर्जसँगै स्थानीय तहले विद्यालयको अनुगमन गर्ने, गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम, शैक्षिक प्रदर्शनी, अभिभावक शिक्षा जस्ता कार्यक्रम प्रभावकारी हुने लम्सालले बताए।