‘विद्यालयको शौचालयमा पानी छैन, कम्बोडमाथि नै दिसा गरिएको हुन्छ, सरसफाइ छैन, ढोका फुटेको छ। त्यसैले हामी पढाइ छाडेर शौचका लागि घर जाने गर्छाैं,’ जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयकी विद्यार्थी पूर्णिमा साहले भनिन्।
‘शौच गर्न घरमा गएपछि कक्षामा पुग्न ढिलो हुन्छ। फेरि घरबाट कक्षामा फर्केपछि शिक्षकहरूले पनि गाली गर्छन्। विद्यालयमा शौचालयको राम्रो व्यवस्था नभएपछि घर जानुबाहेक हामीसँग अर्को उपाय पनि त छैन,’गुनासो पोख्दै साहले भन्छिन्।
यो त एउटा विद्यालयको उदाहरणमात्रै हो। धनुषामा ग्रामिण क्षेत्रका अधिकांश सामुदायिक विद्यायलमा शौचालयको राम्रो व्यवस्था छैन। ग्रामिन भेगमा शौचालयको राम्रो व्यवस्था नहुनु कुनै नौला कुरा नभएपनि प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरका विद्यालयहरूमा समेत शौचालयको राम्रो व्यवस्था छैन।
करिब साढे आठ सय विद्यार्थी अध्ययनरत सरस्वती नमूना मावि जनकपुरमा शिक्षक र विद्यार्थीका लगि जम्मा ४ वटा शौचालय कोठा छन्। ती मध्ये दुईवटा छात्रा शौचालय रहेका छन् भने दुई वटा छात्रहरूका लागि छन्। शिक्षकहरू समेत त्यही शौचालय प्रयोग गर्छन्। तर, पानी भने कुनै शौचालयमा हुँदैन। विद्यालयमा शुलभ शौचालयको सुविधा नभएपछि कतै विद्यार्थीहरू विद्यालय छेउमा रहेको खुला ठाउँमा शौच गर्न बाध्य छन् भने कतिलाई त विद्यालयबाट घरमै जानुपर्ने हुन्छ।
विद्यालय नजिक घर भएकाहरू घरबाट शौच गरेर विद्यालय फर्किने गरेपनि घर टाढा हुनेहरू भने विद्यालय नै फर्किदैनन्, सरस्वती माविका विद्यार्थीहरू। ‘हाम्रो घर टाढा छ घरमा शौच गर्न गएपछि हामी फर्कुन्जेल तीन विषयकाे पढाइ भइसकेको हुन्छ। त्यसैले हामी घर फर्केपछि फेरि विद्यालय जाँदैनौं,’ कक्षा १० मा अध्ययनरत मुकेश यादवले भने।
विद्यालयमा शौचालय भएपनि पानीको व्यवस्था तथा सरसफाई नभएपछि प्रयोगविहीन अवस्थामा देखिन्छन्। व्यवस्थित र छात्रामैत्री शौचालय नभएकाले दैनिक दर्जनाैं छात्रछात्रा विद्यालयमा पूरा समय पढ्न नसकेको विद्यालयकी शिक्षिका बबिता यादवले बताइन्। ‘विद्यालयमा रहेको शौचालय जर्जर अवस्थामा पुगिसकेका छन्। शौचालयमा पानी नै छैन, सरसफाई हुँदैन,’शिक्षिका यादवले भनिन्,‘विद्यार्थी बाध्य भएर शौचका लागि घर जान्छन्। नजिक घर भएकाहरू घर गएर फर्केपनि टाढा घर भएकाहरू फर्केर नै आउँदैनन्। उनीहरू नआएपनि हामी केही भन्न पनि सक्दैनौं।’ शुलभ शौचालय नभएपछि बच्चाहरूलाई झनै समस्या हुने गरेको उनले बताइन्।
‘पाँच कक्षाभन्दा माथिल्लो कक्षाका विद्यार्थीहरू त घर पनि पुग्छन्। तर, तल्लो कक्षाका बच्चाहरू विद्यालयको मैदानमै दिसा गर्छन,’उनले भनिन्। सम्बन्धित निकालयले पटक–पटक निरीक्षण गरेर समस्या कागजमा टिपेर गएपनि समस्या भने अझै पनि समाधान हुन नसकेको उनको गुनासो छ। ‘सम्बन्धित निकाय वडाध्यक्ष, नगर प्रमुखदेखि मन्त्रीसम्मका व्यक्तिले निरीक्षण गरेर समस्या पटक–पटक कागजमा टिपेर गए। तर, अझैसम्म शुलभ शौचालयका लािग पहल हुन सकेका छैन,’ उनले सुनाइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष परमेश्वर साहले शुलभ शौचलयको समस्या पहिलादेखि नै रहेको र आफू निर्वाचित भएर आएदेखि नै सुधारका लागि पहल गरेको दाबी गरे। ‘विद्यालयमा शुलभ शौचालयको समस्या छ। यो ठूलै समस्या छ,’ अध्यक्ष साहले भने, ‘भर्खरै एक महिना पहिले समाजिक विकासमन्त्री नवलकिशोर साहले पनि निरीक्षण गरेर गएका छन्। उनले छठपछि शौचालय व्यवस्थापनका लागि २० लाख रूपैयाँ दिने प्रतिबद्धतासमेत जनाइसकेका छन्। अब छिट्टै समस्या समाधन हुन्छ।’