सुस्त श्रवण भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई सरकारले उपेक्षा गरेको छ। शिक्षामा सुस्त श्रवण भएका बालबालिकाको पहुँच पुर्याउने उद्देश्यले स्थापित विद्यालय सरकारी उपेक्षाका कारण अहिले पनि ३० वर्षअघिकै जनशक्ति र भौतिक पूर्वाधारका भरमा सञ्चालन भइरहेको छ।
सुर्खेतको खजुरास्थित सिद्ध सुस्त श्रवण विद्यालयसँग तीस वर्षअघि जुन भवन थियो अहिले पनि त्यही भवन छ तर जीर्ण। जस्तापाता पुराना भएका कारण कक्षा कोठामा पानी चुहिन्छ। भवनको अभावमा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्ने गरिएको छ। जनशक्ति नथपिएका कारण पठनपाठनमा समस्या छ भने विद्यार्थीहरु ९ कक्षापछिको शिक्षाबाट वञ्चित रहेका छन्।
सिद्ध सुस्त श्रवण विद्यालयमा पढाउने शिक्षिका टीका ढकालले विद्यार्थीहरुलाई सांकेतिक भाषा बुझाउनका लागि अझै तालिमको आवश्यकता रहेको बताउँछिन्। आफूले पढाउने विषय विज्ञान नभएपनि पढाउनुपर्ने बाध्यता भएको उनले बताइन्। उनले विज्ञान विषय पढाउँदा शब्द संकेतहरु नहुँदा विद्यार्थीहरुलाई बुझाउन निकै गाह्रो हुने बताइन्।
नेपाली भाषा, समाजिक भाषामा संकेतहरु भएपनि विज्ञान विषयमा संकेत नहुँदा पढाउँदा धेरै समस्या हुने गरेको शिक्षिका ढकाल बताउँछिन्। उनले विषयगतका विषयमा शब्द संकेतहरु बनाउनका लागि आफूहरुलाई तालिमको जरुरत परेको बताइन्। सोही विद्यालयमा अध्यनरत विद्यार्थी पविता महतराले विद्यालयमा पंखाको सुविधा नभएको, शौचालयको सुविधा नभएको र शिक्षकहरु कम भएकाले आफूहरुलाई समस्या परेकोे बताइन्। उनले कक्षा कोठा सफा नहुनुका साथै विद्यालयमा खेल सामाग्री नपुगेको गुनासो गरिन्।
२०४५ सालमा स्थापित विद्यालयमा हाल १६ जिल्लाका १ सय २ विद्यार्थी अध्ययनरत छन्। सरकारले अन्य सामुदायिक विद्यालयसरह मान्यता दिएपनि पूर्वाधार निर्माण गर्न बजेट नदिएको विद्यालयको गुनासो छ। विद्यालयको जीर्ण अवस्था र जनशक्तिको कमीबारे विगतमा न त तत्कालीन जिल्ला शिक्षा कार्यालयले ध्यान दिएको थियो न त अहिले प्रदेश र स्थानीय सरकारले चासो देखाएका छन्।
सामाजिक विकास मन्त्रालयका सामाजिक मन्त्री दल रावलले सिद्ध सुस्त श्रवण विद्यालयका लागि बजेटको व्यवस्थाका साथै उक्त विद्यालयमा शिक्षकहरुको क्षमता विकासको व्यवस्था गर्नका लागि उच्च तालिमको व्यवस्था गरिने बताए। उनले आउँदो वर्ष उक्त विद्यालयको भौतिक सुधार र गुणस्तर बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाए।