सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए–आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन्। निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाँइदैन। दैलेखका केही सामुदायिक विद्यालयले भने विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गरी नआउनुको कारणबारे सोध्ने गरेका छन्।
गुराँस गाउँपालिका–६ पिलाडीस्थित आदर्श आधारभूत विद्यालय चौताराले नआउने बालबालिकाका अभिभावकलाई फोन गर्ने गरेको छ। अभिभावकलाई फोन गर्दा विद्यार्थीको नियमितता बढेको सो विद्यालयका प्रधानाध्यापक योगेन्द्र रानाले जानकारी दिए। विपन्न समुदायका बालबालिका नियमित विद्यालय नआउने गरेको पाइएको छ। फोन गर्दा विद्यार्थी विद्यालय आउन थालेको राना बताउँछन्। आर्थिक तथा पारिवारिक समस्याका कारण अधिकांश विद्यार्थी विद्यालय भर्ना भए पनि नियमित भने आउँदैनन्।
विद्यार्थी कक्षामा नियमित उपस्थित नहुनुको कारणबारे विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव विकले जानकारी दिए। शिक्षक र अभिभावकको संयुक्त बैठकमा छलफल गरी समस्या समाधानका लागि पहल गरिने उनको भनाइ छ।
विद्यालयमा झण्डै १५० विद्यार्थी अध्ययनरत छन्। सोही गाउँपालिकाको वडा नं ३ स्थित शान्ति माध्यामिक विद्यालयले पनि नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गर्ने गरेको प्रधानध्यापक विष्णु शर्माले बताए। दलित तथा जनजाति बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा विद्यार्थी नियमित विद्यालयन नआउने समस्या छ। अभिभावकलाई फोन प्रायः कक्षा शिक्षकले गर्ने गर्छन्।