त्रिभुवन विश्वविद्यालयको एमएसस्सी केमेस्ट्री विषयको प्रवेश परीक्षामा लापरबाही भएको पाइएको छ। केमेस्ट्री केन्द्रीय विभागको परीक्षा समितिको लापरबाहीका कारण नतिजामा त्रुटि हुँदा सयौँ विद्यार्थी मारमा परेका छन्। लापरबाहीका कारण केमेस्ट्री केन्द्रीय विभागमा बुधबार दिनभर तनावपूर्ण बन्यो।
परीक्षामा क्षमतावान् विद्यार्थीको नतिजा कमजोर आएको आलोचना र केही विद्यार्थीले त्रुटि भएको भन्दै निवेदन दिएपछि पुनः परीक्षण गरी मंगलबार अर्को नतिजा सार्वजनिक गरेको थियो। दोस्रो नतिजापछि तनावपूर्ण अवस्था बनेको हो। कोड र डिकोडमा त्रुटि भएको भन्दै परीक्षा समितिले अर्को नतिजा सार्वजनिक गरेको थियो। दोस्रो नतिजामा पहिले मेरिटमा अगाडि नाम निकाल्न सफल भएकाहरू पछि परेका थिए।
केमेस्ट्री केन्द्रीय विभागप्रमुख प्राडा. रामचन्द्र बस्नेतले प्रवेश परीक्षाको पहिलो नतिजामा केही त्रुटि भएकाले सच्चाएर दोस्रो नतिजा निकालेको बताए। विभागीय प्रमुख बस्नेतले भने, ‘अहिलेकोमा कुनै गल्ती छैन, कसैले रिजल्ट हेर्न चाहेमा देखाउन सक्छौँ।’ पहिले डिकोडिङमा केही गल्ती भएका कारण नतिजा फरक परेको बताए। एमएसस्सी केमेस्ट्री अध्ययनका लागि चार सय २५ जनाले फारम भरेका थिए। त्रिविमा देशभरमा तीन सय ४५ विद्यार्थीले अध्ययन गर्ने क्षमता छ। प्रवेश परीक्षामा राम्रो गर्ने ७२ विद्यार्थीले केमेस्ट्री केन्द्रीय विभागमा भर्ना पाउँछन्। मेरिटमा पछि पर्ने विद्यार्थी आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा भर्ना पाउँछन्।
विज्ञान प्रविधि अध्ययन संस्थानको डिन कार्यालयले एक साताअघि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। डिन कार्यालयका परीक्षा हेर्ने सहायक डिन तेजबहादुर भण्डारीले आपूmहरूले समन्वय मात्र गरेको र परीक्षामा प्रश्न बनाउने, उत्तरपुस्तिका परीक्षणलगायत काम केन्द्रीय विभागले गरेको बताए। नयाँ पत्रिकामा खबर छ।