मुलुकभरका विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्यपुस्तक नपाउने प्रायः निश्चित भएको छ ।
पाठ्यपुस्तक छपाइको काम समयमा पूरा हुन नसक्दा शैक्षिक सत्र २०७६ का लागि विद्यार्थीले नयाँ पाठ्यपुस्तक नपाउने अवस्था आएको हो ।
हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । तर, विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।
तराई र पहाडका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन अब ५५ दिन मात्रै बाँकी छ । तर, केन्द्रमा पुस्तक छपाइले तीव्रता पाउन नसक्दा ती जिल्लामा पनि समयमा नै पुस्तक पुग्न कठिन हुने देखिएको छ ।
कक्षा १ देखि ४ सम्मको ७० लाख थान पाठ्यपुस्तक छपाइका लागि पाठ्यक्रम विकास केन्द्रले विभिन्न ११ वटा प्रेसलाई सूचीकृत गरेर काम अघि बढाएको छ । तर, कति पुस्तक छापिए त्यसको यकिन तथ्यांक केन्द्रसँग छैन ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले समयमै पाठ्यपुस्तक पुर्याउने दाबी गरे । ‘गत वर्षभन्दा छपाइको काम एक दिन मात्रै ढिलाइ भएको हो । त्यसैले, समस्या आउँदैन भन्ने हामीलाई लाग्छ,’ महानिर्देशक पौडेलले भने । उनले हिमाली जिल्लामा अहिले पाठ्यपुस्तक पुर्याउने काम भइरहेको बताए । राजधानीमा खबर छ।