पछिल्लो समय डाेटी जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ।
जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर माविलगायतका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्न थालेको अभिभावक बताउँछन्।
अन्य निजी स्कूलभन्दा पनि बढी यहाँका सामुदायिक विद्यालयमा पढाइ हुन थालेको भन्दै विद्यार्थीका अभिभावक तथा विद्यार्थीको रोजाइमा निजीभन्दा सामुदायिक विद्यालय पर्न थालेको दिपायलका स्थानीयवासी तथा समाजसेवी घनश्याम पाठकले बताए। उनले भने, 'पछिल्लो समय डोटीका निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको पढाइस्तर बढेकाले निजी स्कूलमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन्।'
अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकको दावी छ। यहाँका केही सामुदायिक विद्यालयमा प्रशस्त रूपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने बित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्क शाहीले बताए।
स्थानीय अभिभावकका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्। डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा तथा बैतडी जिल्लाका विद्यार्थीसमेत यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले जानकारी दिए।
निजी विद्यालयमा पढ्ने विद्यार्थी धमाधम सामुदायिक विद्यालयमा पढ्न जान थालेपछि निजी विद्यालय सञ्चालनमा समस्या हुन थालेको बताइएको छ। यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाइ शुरु हुन थालेको छ। रासस