विश्वकै सबैभन्दा अग्लो मूर्ति भारतमा तयार भएको छ । अहमदावादको नर्मदा नदीको बाँधमा १८२ मिटर अग्लो ‘स्ट्याचु अफ युनिटी’ निर्माण गरिएको हो । भारतीय राजनेता सरदार बल्लभभाइ पटेलको उक्त मूर्तिलाई यही ३१ अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले अनावरण गर्ने भएका छन् ।
यो मूर्तिलाई ७ किलोमिटर टाढाबाट समेत देख्न सकिनेछ । मूर्तिको अनुहार नै ७ तले भवन बराबर रहेको र हात ७० फिट तथा खुट्टा ८५ फिटभन्दा अग्लो रहेको बताइएको छ । यसका लागि ३ हजार श्रमिक र ३ सय इन्जिनियर खटिएका थिए। यसका लागि १ लाख ४० हजार वर्गमिटर कंक्रिट, १८ हजार ५ सय टन स्टील, ७० हजार टन सीमेन्ट र २ हजार टन काँस लागेको थियो ।
यसअघि चीनमा निर्माण गरिएको १ सय २८ मिटर अग्लो स्प्रीङ बुद्ध र न्यूयोर्कको स्ट्याचु अफ लिबर्टी ९० मिटरको थियो । यसलाई पश्चिम भारतको महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ । प्रतिमालाई रामसुथार र उनका छोरा अनिल सुधारले बनाएका हुन् । यसका लागि अमेरिकन आर्किटेक्ट माइकल ग्रेस र टनेल एसोसिएट्स कम्पनी संलग्न थियो ।
लिफ्टको मद्धतबाट पर्यटकहरु मूर्तिको छातिसम्म जान सक्नेछन् र त्यहाँ बनाइएको ग्यालरी देख्न सक्नेछन् । त्यहाँबाट सरदार सरोबर बाँध र नर्मदाको १७ किलोमिटर लामो उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ ।