संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गरेका छन् । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उनले मङ्गलबार एक विज्ञप्तिमार्फत दुःख व्यक्त गरे।
महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट गरेकाे बताइएको छ ।
उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति पनि पुगेको छ । साथै यसबाट दशौँलाख नागरिक पनि प्रभावित भएका छन् । सो आँधीबाट उडिसाका विशेषगरी गन्जाम, गजापति र रायगडा जिल्लामा ठूलो असर परेको छ । त्यहाँका दशौँलाख नागरिक प्रभावित भएका र कतिपय विस्थापित पनि हुन पुगेका छन् ।
आँधीका कारण बाटोघाटो र पूर्वाधारहरु भत्किएका छन् । बिजुली र टेलिफोनजस्ता सुविधाबाट नागरिक वञ्चित हुन पुगेका उडिसाका सरकारी अधिकारीहरुले बताएका छन् ।