अफगानिस्तानमा खडेरीबाट पीडित नागरिकलाई संयुक्त राष्ट्रसंघले तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढीको आर्थिक सहायता दिने भएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्था ओसिएचएले अफगानिस्तानमा सुख्खा मौसमका कारण उत्पन्न खाद्य सङ्टको समाधानका लागि सो रकम उपलब्ध गराउने भएको बताइएको छ ।
राष्ट्रसंघमा रहेको अफगानिस्तान मानवीय सहायता कोषबाट उक्त रकम प्रदान गर्न लागिएको राष्ट्रसंघीय कार्यालयद्वारा बुधबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यो रकम सुख्खा पीडित करिब २२ लाख अफगान नागरिकलाई खाद्यान्न किन्न प्रयोग गरिने आर्थिक सहयोगस्वरुप प्रदान गर्न लागिएको समाचारमा जनाइएको छ ।
यो रकम ती नागरिकलाई प्रत्यक्षरुपमा दिने नभई अफगानिस्तानमा मानवीय सहायताका क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी गरी करिब २२ ओटा गैरसरकारी संस्थालाई उपलब्ध गराइने र ती संस्थाले खाद्यान्न किनेर खडेरी पीडित ती नागरिकलाई वितरण गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ ।
यस रकममार्फत सुख्खा प्रभावित नागरिकलाई आकस्मिक रुपमा खाद्यान्न सहयोग गर्ने, प्राथमिक स्वास्थ्य चौकीको निर्माण गर्ने, खानेपानी र चर्पीको व्यवस्था गर्ने र किसानहरूलाई उनीहरूले पालेका पशुको संरक्षणका लागि सहयोग गर्ने योजना रहेको राष्ट्रसंघ जानकारी दिएको छ