चीनले ९ वर्ष लगाएर निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुद्रिक पुलको चिनिया राष्ट्रपति सि चिनफिङले आज भव्य समारोहबीच उद्घाटन गरेका हुन् । पुल भोलि बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने छ । २० अर्ब डलरको लागतमा निर्माण गरिएको पुल उद्घाटन समारोहमा हङकङ तथा मकाउसमेतका नेताहरु सहभागी थिए ।
५५ किलोमिटर लामो पुलले चीनको जुहाई शहरलाई हङकङ र मकाउसम्म जोड्नेछ ।
८ रेक्टरस्केलको भूकम्प तथा सामुद्रिक आँधीलाई समेत झेल्न सक्ने क्षमताको यो पुल ४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको हो । यति परिमाणको स्टील ६० वटा आइफल टावर निर्माण गर्न पुग्छ । पुल निर्माणमा १४ हजार मजदूर र ३ सय जहाज परिचालित भएका थिए ।
विगतमा चीनको जुहाई र हङकङबीचको यात्राका लागि ४ घण्टासम्म लाग्ने गरेकोमा पुल निर्माणपछि ३० मिनेटमात्र लाग्नेछ । पुल समुद्रमाथि २२.९ किलोमिटर छ भने जहाज आवतजावतका समुद्रमुनी ६.७ किलोमिटर सुरुङ बनाइएको छ । बाँकी भाग जमिनमा निर्माण गरिएको छ । पुल निर्माण गर्न ४ वटा मानव निर्मित टापुु बनाइएका छन् ।
आलोचना पनि
पुलको प्रशंसाका अतिरिक्त व्यापक आलोचना पनि भएको छ । पुललाई स्थानीय सन्चारमाध्यमले ‘मृत्युको पुल’ भनेका छन् । पुलको हङकङ क्षेत्रतर्फ ९ जना र चीनतर्फ ९जना कामदारको मृत्यु भइसकेको छ । निर्माणका क्रममा सयौं कामदार घाइते भएका छन् । यस्तै, वातावरणकर्मीहरुले पनि पुल निर्माणले गर्दा त्यस क्षेत्रका सामुद्रिक जलचरमा असर गर्ने भन्दै विरोध गरेका छन् । १० वर्षयता त्यस क्षेत्रमा चिनिया सेतो डल्फिनको संख्या १४८ बाट घटेर ४७ भएको जनाइएको छ ।
अचम्मका तथ्य
चालकहरु पुलमा प्रवेश गरेपछि उनीहरुको मुटुको चाल र रक्तचाप जाँचिनेछ । यसको सूचना पुल नियन्त्रण केन्द्रमा पठाइनेछ । यस्तै, पुल पार गरिरहँदा चालकहरुलाई सीसीटीभी क्यामेराहरुले निगरानी गरिरहनेछन् ।
हङकङ र मकाउ चीनका दुई स्वायत्त प्रशासनिक क्षेत्र हुन् । ५० वर्षसम्म आफ्नै खालको प्रशासन चलाउन स्वतन्त्र रहेका यी दुई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको सन्देश दिन चीनले यो पुल निर्माण गरेको बताइएको छ ।
यो पुलमा गाडी चलाउन कोटा सिस्टममा आधारित विशेष प्रवेशाज्ञा अनिवार्य रुपमा लिनुपर्छ र सबैले कर तिर्नुपर्छ । हङकङका बासिन्दाले विशेष स्वीकृति लिनुपर्नेछ । यो पुलमा निजी गाडी चलाउन पाइएपनि सार्वजनिक यातायात भने सन्चालनमा छैन ।