पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्।
आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेकाे पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ। खान प्रधानमन्त्री भएपछि उनकाे यो पहिलो चीन भ्रमण हुने भएको छ । उनकाे भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन्।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ।
भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्ने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्ने छन् । उनी चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउने कार्यतालिका रहेको छ।