सोमबार बिहान ६.२० बजे । लायन एयरलाइन्सको विमान १८९ यात्रुसहित जकार्ताबाट पंगकल उडाए । विमान १ घण्टापछि अर्थात् ७.२० बजे पंगकलको पिनगाङ विमानस्थल उत्रनुपथ्र्यो । उडेको ३ मिनेटमै ६.२३ मा जकार्ता विमानस्थलको कन्ट्रोल टावरमा पाइलटको एउटा सन्देश आयो– विमानलाई फर्काउने स्विकृति दिइयोस् ।
कन्ट्रोल टावरले फर्कने स्विकृति पनि दियो । तर लगत्तै टावरसँगको सम्पर्क बिच्छेद भयो ।
पाइलटले फर्कने सन्देश पठाएकै बेला विमानको उचाई र गति निकै अस्थिर थियो। उडान भर्नेबित्तिकै यो विमान बायाँतर्फ ६५० मिटर माथि गयो र फेरि ४५० मिटर तल आयो । यसपछि फेरि उचाइ लियो । यसरी विमान तलमाथि हुने क्रम जारी रह्यो । विमानले उडान भरेको १३ मिनेटभित्रै समुद्रमा खसेको खबर आइसकेको थियो । समुद्रमा खस्नुअघि विमान १५८० मिटर उचाईमा उडिरहेको थियो।
पंगकल उड्नुअघि विमानले बालीको उडान भरेको थियो । त्यहीबेलै यसमा प्राविधिक खराबी आएको थियो । बालीमा उडान गरेका बेला प्राप्त विमानको टेक्निकल लगका अनुसार क्याप्टेनसँग रहने एयरस्पीड रिडिङले काम गरिरहेको थिएन भने पाइलट र को–पाइलटलाई विमानको उचाईबारे जानकारी दिने उपकरणले पनि अलग–अलग सूचना दिइरहेको थियो । विमानस्थल व्यवस्थापनले यो समस्या समाधान गरेको दाबी गरेपनि पंगकल जाने क्रममा पनि यही समस्या देखिएको थियो । सम्भवतः यहीकारण पाइलटले पुनः जकार्ता फर्कने आदेश मागेका थिए ।
विमान भारतीय नागरिक भव्य सुनेजाको कमाण्डमा थियो । नयाँदिल्लीमा रहने उनको डेढ वर्षअघि बिहे भएको थियो । पिता गुलशन सुनेजा व्यापारमा छन् भने आमा एयरइण्डियामा काम गर्छिन् । आमा उड्डयन क्षेत्रमा काम गर्ने भएकाले पाइलट बन्ने उनको सानैदेखिको प्यासन थियो । यसैले बाबुले पनि उनको इच्छालाई पूरै साथ दिए । उनका पारिवारिक मित्र केएस चौहान भन्छन्, ‘छोरा पाइलट बन्दा बाबु गुलसन निकै खुशी थिए, भव्य त हाम्रै काखमा हुर्किएका हुन् ।’
भारतीय सन्चारमाध्यमका जनाइएअनुसार भव्य दिवालीमा दिल्ली फर्किएर श्रीमतीसँग समय बिताउन चाहन्थे । बाबुआमा र बहिनी उनी आउने दिन कुरिरहेका थिए ।
भव्यको लिंक्डइन प्रोफाइलअनुसार उनी सन् २०११ मा लायन एयरलाइन्ससँग आबद्ध भएका भएका थिए । २००९ मा उनले बेल एयर इन्टरनेशनलबाट पाइलटको लाइसेन्स लिएका थिए ।
उनी अनुभवी पाइलट पनि थिए । उनीसँग ६हजार घण्टाको विमान उडान अनुभव थियो । उनका को पाइलटसँग पनि ५ हजार घण्टाको अनुभव थियो । यसआधारमा पनि दुवैजना अनुभवी थिए ।
लायन एयरलाइन्सः खराब सुरक्षा रेकर्ड
इण्डोनेशियामा धेरै टापु छन् । यहाँ एक टापुबाट अर्को टापुमा जान विमान नै उपयुक्त मानिन्छ । तर इण्डोनेशियाको एयरलाइन्सको सुरक्षा रेकर्ड राम्रो मानिदैंन । लायन एयरलाइन्स इण्डोनेशियाकै सबैभन्दा ठूलो बजेट एयरलाइन्स हो । यो विमानले खाडी मुलुक र अष्ट्रेलियामा पनि उडान भर्छ । सन् १९९९ मा अस्तित्वमा आएको यो विमानको सुरक्षा रेकर्ड खराब मानिन्छ । सन् २०१३ मा यसको विमान बालीको समुद्रमा खस्यो । तर भाग्यबस विमानमा सवार १०८ यात्रु सकुशल रहे । सन् २००४ मा यसको विमान सोलो शहरमा क्र्यास ल्यान्डिङ हुँदा २५ जनाको मृत्युभएको थियो। बीबीसीबाट