भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको प्रधानमन्त्री नरेन्द्र माेदीले अनावरण गरेका छन्। स्थानियकाे विराेधकाबीच कडा सुरक्षा घेरामा रहेर प्रधानमन्त्री माेदीले अनावरण गरेका हुन् ।
याे स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ। त्यसको उचाई १८२ मिटर (६००) फिट रहेको बताइएको छ । याे स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ।
स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको थियाे।
‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरुले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ति माग गरेका छन् ।
सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो। उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ।
सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको छ। सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन्।
गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमीटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।