अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको हुँदैं आफ्नो सीमातर्फ अघि बढिरहेका आप्रवासीले ढुंगामुडा गरे जवाफमा गोली हान्न आदेश दिएका छन् । ल्याटिन अमेरिकी मुलुकहरु होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरबाट करिब १० हजार आप्रवासीहरुको लस्कर अमेरिकातर्फ बढिरहेको छ । उनीहरुलाई रोक्न अमेरिकाले मेक्सिकोसँगको सीमामा १५ हजार सैनिक तैनाथ गर्दैछ ।
‘अमेरिकी सेना आप्रवासीलाई सकेसम्म गोली हान्दैन । किनकि अमेरिकी सेना जिम्मेवार छ । तर यदि आप्रवासीले सेनामाथि ढुंगामुडा गरे त्यसको जवाफ गोलीबाट दिइनेछ, ढुंगा र गोली चलाउनुमा कुनै फरक छैन,’ उनले भनेका छन् ।
ट्रम्पले आप्रवासीहरु हिंस्रक रहेको र तीन दिन अघि पनि आप्रवासीको ढुंगाप्रहारमा कैयौं सैनिक घाइते भएको बताए । उनले हजारौं आप्रवासीहरु अमेरिकातर्फ अघि बढ्दा पनि मेक्सिकोले नरोकेकोमा आलोचना गरेका छन् ।
आप्रवासीहरुको अमेरिका यात्रा २० दिनअघि होन्डुरसको पेड्रो शहरबाट सुरु भएको थियो । त्यहाँका १ सय ६० मानिस गरिबी, बेरोजगारीबाट दिक्क भएर हिडेका थिए । तर बाटोमा अरु मानिस पनि मिसिएर उक्त लस्करको संख्या ७ हजारभन्दाबढी पुगेको छ । जसमा १ हजार महिला तथा बच्चा छन् ।