फिलिपिन एयरलाइन्सको विमानले जमीन छाडेको केही बेरमात्र भएको थियो। यात्री तथा चालक दलका सदस्य आ–आफ्नै सुरमा थिए। एयरहोस्टेस प्यात्रिशा ओर्गानोलाई त्यो दिन अझ विशेष थियो । किनभने उनी क्याबिन क्रु इभ्यालुएटर पदको प्रतिस्पर्धामा थिइन् र सोही उडानमा उनको छनौट मुल्यांकन हुँदै थियो।
विमानमा एक्कासी एक बच्चा रोएको आवाज आयो। सुरुमा त बच्चाको आवाजलाई कसैले पनि ध्यान दिएन। बच्चा चिच्याई–चिच्याई रुन थालेपनि सबैको ध्यान त्यही बच्चातिर गयो। कहिले रुवाई बन्द होला भनेर सबैले बच्चातिर हेर्न थाले।
एयरहोस्टेस प्यात्रिशाले पनि अप्ठेरो मानिन् र ती बच्चाको आमानजिकै गइन् र के भयो, कुनै समस्या छ कि भनेर सोधिन्। आँखाभरि आँशु पारेर बच्चाकी आमाले साथमा ल्याएको दुध पाउडर सकिएको र बच्चा भोकाएकाले रोएको बताइन्। यसले प्यात्रिशाको मुटुमा छोयो। किनभने, उनले आफ्नी ९ महिनाकी छोरीलाई घरमा छाडेर आएकी थिइन्। उनको मातृत्व जाग्यो।
विमानमा दुध पाउडर थिएन। बच्चालाई सहयोग गर्ने अर्को विकल्प थिएन। त्यसैले उनले विमानका क्रुको स्वीकृतिमा बच्चालाई काखमा लिइन् र दुध खुवाउने ठाउँतिर लिएर गइन्। बच्चाले चाँडो चाँडो दुध तान्यो र शान्त भयो। एयरहोस्टेसले बच्चा ननिदाउँदासम्म दुध चुसाइरहिन्। पछि उनले बच्चालाई उसकै आमा कहाँ ल्याएर जिम्मा लगाइन्। आमाले उनलाई धन्यवाद दिइन्।
यो घटना यसै विशेष थियो, उनको उडान करिअरमा पनि विशेष बन्न पुग्यो। उनी क्याबिन क्रु इभ्यालुएटर पदमा छनौट भइन्। ‘मैले छनौट हुँला भनेर त्यसो गरेकी होइन, मैले जे गरें, सही थिएँ, सहयोग गर्न पाएँ,’ उनले आफ्नो फेसबुकमा लेखेकी छन्। यो घटना गत ७ नोभेम्बरको हो।