केबल न्यूज नेटवर्क सीएनएनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ।
ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा मुद्दा दायर गरेको हो।
सीएनएनले एकोस्टाको संवैधानिक अधिकार उल्लंघन भएको भन्दै दर्ता गरिएको मुद्दामा राष्ट्रपति ट्रम्पसहित चीफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रेस सचिव सारा सेन्डर्सलाई विपक्षी बनाइएको छ। राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि तनाव भएको थियो।
ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टाले प्रश्न गरिरहेकै बेला उनको माइक्रोफोन नियन्त्रणमा लिने प्रयास गरेकी थिइन्। तर, एकोस्टाले ती महिलालाई रोके र थप प्रश्नहरु ट्रम्पमाथि गरेका थिए।
ह्वाइट हाउसकी प्रेस सचिब साराले एकोस्टाको आचरणका कारण पास रद्द गरेको बताएकी थिइन्। घटना पछि साराले ट्वीट गर्दै एकोस्टाले आफ्नो काम गर्न लागेकी महिलालाई जबरजस्ती हाथले रोक्न खोजेको आरोप पनि लगाएकी छिन्। तर एकोस्टाले ह्वाइट हाउसले लगाएको आरोपको भने खण्डन गरेका छन्।