के तपाईं मानिस ३५२ वर्षसम्म बाँच्न सक्छ भनेर पत्याउनुहुन्छ? पक्कैपनि पत्याउनुहुन्न। तर भारत आन्ध्र प्रदेशको विशाखापटनममा ३५२ वर्षको मानिस छ। यतिमात्र होइन, उक्त व्यक्तिले हरेक चुनावमा लाइन लागेर भोट हाल्ने गरेको छ।
तपाईंले सोचेजस्तै उक्त मानिस यतिका वर्षसम्म बाँचेको चाहि होइन। विशाखापटनमको मतदाता सूचीमा गडबडीका कारण यस्तो भएको हो। आइआइएम बेंगलुरुका पूर्व विद्यार्थी एवं सफ्टवेयर इन्जिनियर थुम्माला लोकेश्वर रेड्डीको टीमले मतदाता सूचीमा गरेको अध्ययनमा यस्तो गल्ती पत्ता लगाएका थिए।
सूचीमा थुप्रै गल्ती पत्ता लागेका छन्। जस्तो कि आन्ध्र प्रदेशमा ३ करोड २० लाख मतदाता सूचीकृत छन्। तर तिनमा ५२ लाख ६७ हजार मतदाता त फर्जी रहेको पाइएको छ। यस्तै, २५ लाख मतदाताका नाम र पिता तथा पतिको नाम सही भएपनि अन्य जानकारी गलत भएको पाइएको छ भने भोटर आइडीमा गलत ठेगाना लेखिएका छन्। कयौं मतदातासंग तेलंगाना र आन्ध्र प्रदेश दुवै प्रदेशको भोटर आइडी पाइएको बताइएको छ।
यस्तै , १ सय वर्षभन्दा बढी उमेरका र १८ वर्षभन्दा कम उमेरका हजारौं मतदाता फेला परेका छन्। नेल्लोर नामको शहरका एक मतदाताको उमेर त १ वर्षमात्र भएको पाइएको छ।
अध्ययनकर्ता सफ्टवेयर इन्जिनियरले यो अध्ययन १५ वर्ष लगाएर गरेका थिए। उनले अमेरिकी तथा बेलायती विशेषज्ञको मद्दतले अध्ययन गरेका थिए। एजेन्सीबाट