एक बालिकालाई झुकेर माया गर्दै गरेका यी व्यक्तिको तस्बिर झट्ट हेर्दा निकै राम्रो लाग्छ ।
तर सन् १९३३ मा लिइएको यो तस्बिरका पछाडिको कथा अलिक मार्मिक छ । तस्बिरमा देखिन्छन् जर्मन तानाशाह एडल्फ हिटलर, जसले ६० लाख यहुदीको नरसंहार गरेका थिए । अनि तस्बिरकी यी बालिका हुन् यहुदी मुलकी बालिका रोजा बनाईल निनाओ ।
वरिष्ठ नाजी अधिकारीहरुले हस्तक्षेप गर्दासम्म हिटलर र यी बालिकाबीच गहिरो मित्रता भइसकेको थियो । तर पछि त्यो अन्त्य भयो ।
अमेरिकाको मेरिल्याण्डस्थित अलेक्जाण्डर ऐतिहासिक लिलामी संस्थाका अनुसार फोटोग्राफर हेनरिक हाफम्यानले यो तस्बिर खिचेका थिए । यही तस्बिर गत मंगलबार अमेरिकामा ११ हजार ५ सय २० अमेरिकी डलरमा लिलाम भयो ।
लिलाम गर्ने बिल प्यानागोपुलसले बेलायती अखबार डेली मेलसँग भनेका छन्, ‘हस्ताक्षरित यो तस्बिरलाई यसअघि कसैले पनि देखेको थिएन ।’
यो तस्बिरको मुख्य विशेषता के हो भने यसमा बालिका र हिटलरबीचको सम्बन्ध वास्तविकजस्तै लाग्छ । बिल भन्छन्, ‘हिटलर अक्सर बालबालिकाका साथ प्रोपोगान्डाको उद्देश्यले फोटो खिचाउँथे ।’
हिटलरको माया
२० अप्रिल हिटलरको जन्मदिन हो । सोही दिन उनको यी बालिकासँग भेट भएको थियो । लिलामी गर्ने वेबसाइटका अनुसार २० अप्रिलका दिन रोजाको पनि जन्मदिन थियो । त्यो दिन उनी आमा क्यारोलिनसित हिटलरको निवास बर्गोफबाहिरको भीडमा सामेल थिइन् । जब हिटलरले त्यो दिन रोजाको पनि जन्मदिन भन्ने थाहा पाए, आमाछोरीलाई आफ्नो घरमा निम्त्याए, जहाँ यो तस्बिर लिइयो ।
केही समयपछि थाहा भयो, क्यारोलिनको आमा यहुदी थिइन् । तर यसले हिटलर र रोजाबीचको मित्रतामा केही फरक पारेन । हिटलरले यो तस्बिर आफ्नो हस्ताक्षरका साथ रोजालाई पठाएका थिए ।
उनले तस्बिरमा लेखेका छन्, ‘प्रिय र रोजा निनाओ, एडल्फ हिटलर, म्युनिख, १६ जुन १९३३ ।’ पछि रोजाले तस्बिरमा आफ्नो छाप लगाइन् र कालो र सेतो रंगको फुल बनाइन् ।
१९३५ र १९३८ को बीचमा रोजाले हिटलर र उनका निकट सहयोगी विलहेम ब्रक्नरलाई कम्तीमा पनि १७ पटक चिठी लेखिन् । तर पछि हिटलरका निजी सचिव मार्टिन बर्मनले रोजा र उनकी आमालाई अबदेखि हिटलरसँग सम्पर्क नगर्न आदेश दिए ।
फोटोग्राफर हाफम्यानका अनुसार यो आदेशबाट हिटलर भने खुशी थिएनन् । आफ्नो पुस्तक ‘हिटलर माइ फ्रेन्ड’ मा हाफम्यानले लेखेका छन्, ‘त्यतिबेला हिटलरले मलाई भनेका थिए केही यस्ता मानिसहरु छन् जसको वास्तविक कला मेरो सम्पूर्ण खुशी बर्बाद गर्नु हो ।’
हाफम्यानले सन् १९५५ मा प्रकाशित गरेको उक्त पुस्तकमा बालिकासँगको अर्को तस्बिर पनि छ, जसको क्याप्सन छ– हिटलरको माया : उनी बालिकालाई बर्गोफ (हिटलरको निवास) मा देख्न रुचाउथे, तर पछि कसैले पत्ता लगाए कि बालिका आर्य वंशकी होइनन् ।’
हिटलरका निजी सचिवले रोजालाई हिटलरसँग सम्पर्क गर्न बन्द गर्ने आदेश दिएको एक वर्षपछि नै दोस्रो विश्वयुद्ध सुरु भयो । युद्धका क्रममा रोजाको पनि मृत्यु भयो । हिटलरसँगको पहिलो भेटको एक दशकपछि १९४३ मा म्युनिखको एक अस्पतालमा १७ वर्षको उमेरमा पोलियोका कारण रोजाको मृत्यु भएको थियो । बीबीसीबाट