सिरियामा सैन्य अभियान सुरुआत भएदेखि नै मस्कोका अधिकारीहरुले रुसी सुरक्षा कम्पनीका सुरक्षाकर्मीहरुको मृत्युलाई कहिल्यै स्वीकार गरेन । यहाँसम्मकि ती कम्पनीको अस्तित्वसमेत स्वीकार गरेन ।
रुसी राष्ट्रपतिका प्रेस सचिब दिमित्री पेस्कोभले केही दिनअघि भनेका थिए ‘हाम्रो देशमा यस्तो कुनै पनि संस्था छैन ।’
तर बीबीसी रुसी सेवाले यसै बर्ष सिरिया भ्रमण गर्ने एक ब्यक्तिसँग कुरा गर्दा ‘पीएमसी वाग्नेर’ नामक निजी कम्पनीका भाडाका रुसी सैनिकले सीरिया तथा पूर्वी यूक्रेनमा सन् २०१८ देखि सैन्य कारबाहीमा भाग लिइ रहेको पुष्टि भएको थियो । उनका अनुसार भाडाका ती सैनिकहरु चाँडै सुडान तथा लीबियामा जाने छन् ।
निकोलाई अफ्रिन (परिवर्तित नाम) ले भने ‘उनीहरुमध्ये लगभग ८० जना सूडानमा छन् र चाडैं नै लिबिया जाने तयारी गरिरहेका छन् ।’
कसरी भर्ना हुन्छन् भाडाका सैनिक ?
वाग्नेर पीएमसी कम्पनीमा भर्ना हुनुअघि अफ्रिनले धेरैअघि चेचेन्यामा भाडाका सैनिकका रुपमा काम गरेका थिए । उनी भन्छन्, ‘वाग्नोर पीएमसीमा काम गर्नु आयआर्जनको राम्रो तरिका हो ।’ उनकाअनुसार सिरियामा युद्धको सुरुताका भाडाका सैनिक बस्ने अवधि ६ महिनासम्म हुन्थ्यो भने अब तीन महिनाभन्दा बढी हुँदैन ।
उक्त कम्पनीमा सहभागी हुन स्वयमसेवकहरुले सबैभन्दा पहिला मोल्किनोस्थित तालिम केन्द्र गएर रोजगारसम्बन्धी कागजात जम्मा गर्नुपर्छ । त्यहाँ विभिन्न परीक्षण गरेपछि मेडिकल टेस्ट र डोपिङ टेस्ट गर्नुपर्छ ।
त्यसपछि आफ्नो परिवार, साथी तथा आफन्तको सबै जानकारी फाराममा उल्लेख गर्नुपर्छ । साथै आफूले प्रयोग गर्ने सामाजिक सञ्जालका साथै इमेलको पनि पासवर्ड कम्पनीमा बुझाउनुपर्ने नियम बनाइएको छ । त्यसपछि सुरक्षा विशेषज्ञ अधिकारीसँग छलफल गरेर काममा पठाइन्छ। त्यसपछि व्यक्तिगत नम्बर दिइन्छ, जसमार्फत् उनीहरुले तलब पाउँछन् । सबैको नामावली भर्नु पर्नाको मूख्य कारण युद्धका दौरान मृत्यु भएमा उनीहरुले पाउने क्षतिपुर्ति उपलव्ध गराउनु रहेको छ ।
सबै प्रक्रिया पूरागरेपछि बाग्नेरका लागि काम गर्ने भाडाका सैनिकहरुले ८० हजार रुबल मासिक रुपमा पाउने सम्झौतामा हस्ताक्षर गर्छन् । यस्तै, घाइते भएमा ३ लाख रुबल र मृत्यु भएमा २० लाख रुबल क्षतिपूर्ति दिइन्छ । पछि मृत्यु भएमा पाउने क्षतिपूर्ति बढाएर ५० लाख बनाइएको थियो।
धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सीरिया, पूर्वी यूक्रेन र विभिन्न अफ्रीकी देशमा वाग्नेरका सैनिकहरुले युद्ध लडिरहेको दावी गरेका छन् । पछिल्लो ३० जुलाईमा रुसका पत्रकार ओरहान जमाल, केरील राडचेन्को र अलेक्जेन्डर रास्तोरोवको मध्य अफ्रीकी मुलुकमा रुसी भाडाका सैनिकबारे डकुमेन्ट्री सुटिङ गर्दा ज्यान गएको थियो ।
रुसका राष्ट्रपति पुटिनका किचेन क्याविनेट सदस्य व्यापारी येभ्गेनी ब्रिगोजिन वाग्नेरका संस्थापक भनिए पनि यो कुरा उनी भने मान्न तयार छैनन् । यस विषयमा रुसी राष्ट्रपति पुटिनलाई सोध्दा उनलाई चिने पनि नजिकको साथी भने नभएको बताएका थिए । पूर्वी यूक्रेन टुक्रिए पछि ब्रिगोजिनलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । बीबीसीबाट