सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद बढेपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएका छन् ।
रक्षामन्त्री म्याटिसलगायत सल्लाहकारहरुको सल्लाहविपरित राष्ट्रपति ट्रम्पले आइएसलाई पराजित गरिसकेको भन्दै सेना फिर्ताको घोषणा गरेपछि म्याटिसको राजीनामा आएको हो । तर पेन्टागन र विदेश मन्त्रालय सिरियामा आइएसविरुद्धको लडाई समाप्त भइनसकेको भन्दै सेना तत्काल फिर्ता नगर्ने पक्षमा थिए ।
अमेरिकाभित्र तथा विदेशमा आफ्नो कामका कारण प्रशंसित भएका म्याटिसलाई गुमाउँदा ट्रम्पलाई ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ ।
बिहीबार ह्वाइटहाउसमा बुझाएको राजीनामा पत्रमा म्याटिसले ट्रम्पसगका आफ्ना केही मतभेद उल्लेख गरेका छन् । उनले आफ्ना सहयोगी मुलुक नै अमेरिकाका शक्ति भएको उल्लेख गर्दै तिनको सम्मान गर्नुपर्ने बताएका छन् । आइएसजस्ता समूहको चुनौतीबारे मुलुक स्पष्ट हुनुपर्ने उनको भनाई छ ।
यस्तै, अफगानिस्तानबाट सेना कटौतीको विषयमा पनि म्याटिस र ट्रम्पबीच मतभेद छ । ट्रम्पले बिहीबार नै अफगानिस्तानमा कार्यरत सेना कटौतिको योजना प्रस्तुत गर्न सेनालाई निर्देशन दिएका छन् । नेटा गठबन्धनको रुपमा १४ हजार अमेरिकी सेना अफगानिस्तानमा कार्यरत छन् । ट्रम्पले बिहीबार ट्वीटरमार्फत् अवकाशप्राप्त जलसेनाका कमान्डरले अवकाश पाउनुपर्ने भनेर ट्वीट गरेलगत्तै पेन्टागनले म्याटिसको राजीनामा सार्वजनिक गरेको हो । तर ट्रम्पले म्याटिससँग कुन विषयमा मतभेद भयो भन्ने स्पष्ट पारेका छैनन् ।