संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले शुक्रबार युद्धग्रस्त यमनमा जारी युद्धबिरामको अवस्था अनुगमन गर्न पर्यवेक्षकहरु पठाउने प्रस्ताव पारित गरेको छ। उक्त युद्धबिराम यमनको रणनीतिक महत्वको बन्दरगाह शहर होडेडामा लागू भएको छ।
बेलायतको मस्यौदा प्रस्तावमाथि राष्ट्रसङ्घको १५ सदस्यीय सुरक्षा परिषदमा लामो छलफल भएको थियो। मतदान हुनुअघि प्रस्तावमा धेरैपटक संशोधन गरिएको थियो।
बैठकले गत साता स्वीडेनमा राष्ट्रसङ्घको मध्यस्थतामा भएको वार्ताको नतिजालाई स्वीकार गरेको छ। यमनका युद्धरत पक्षहरुले होडेडामा युद्धबिराम गर्ने सहमति जनाएका थिए। मङ्गलबारदेखि कार्यान्वयनमा आएको युद्धबिरामको सहमति बमोजिम होडेडाबाट लडाकूहरुलाई फिर्ता गर्न थालिएको छ। यमनमा सहायता र खाद्यान्न यही होडेडा हुँदै भित्रिने गर्दछ।
भोकमरिको जोखिममा रहेका लाखौं यमनी नागरिकका लागि होडेडा बन्दरगाह मुख्य आधार हो। साउदी नेतृत्वको सरकारी फौज र हुथी विद्रोहीबीचको सशस्त्र द्वन्द्व अन्त्य गर्ने यो एउटा महत्वपूर्ण अवसर पनि हो। यमनमा चार वर्षदेखि सशस्त्र युद्ध जारी छ। साथै एकअर्काले कब्जामा राखेका झण्डै १५ हजार व्यक्ति मुक्त हुने सहमति भएको छ।
होडेडाका लागि भएको युद्धबिराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा सुरक्षा परिषदले विश्वास व्यक्त गरेको छ। राष्ट्रसङ्घको प्रस्तावमा युद्धबिरामको अनुगमन शुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ट सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाइने निर्णय भएको छ।
साउदी अरेबियाले राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको छ। युद्धबिरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसङ्घमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताए। उनले कुवेत र साउदी अरबका सहयोगी राष्ट्रहरुको निरन्तरको प्रयास सफल भएको पनि बताए।