सबरीमाला मन्दिरमा महिला प्रवेशको विरोधमा केरलमा प्रदर्शन जारी छ । बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा सीपीआइ (एम) र भारतीय जनता पार्टीका कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ ।
रजस्वला भएका महिला प्रवेशमा लाग्दै आएको प्रतिबन्धका बाबजूद हिजो सबरीमाला मन्दिरमा २ महिला प्रवेश गरेपछि राज्यभर हिंसात्मक प्रदर्शन भएको हो। त्यस क्रममा घाइते भएका एकजनाको आज मृत्यु भएको हो । विभिन्न हिन्दुवादी संगठनको समूह ‘सबरीमाला कर्म समिति’ ले हडताल आव्हान गरेको हो । बिजेपीले हडतालको समर्थन गरेको छ भने कंग्रेस नेतृत्वको युडीएफले कालो दिवस मनाएको छ ।
गत वर्ष सर्वोच्च अदालतले मन्दिरमा सबै उमेरका महिलालाई प्रवेश दिन आदेश दिएको थियो । मन्दिरमा रजस्वला भएका महिला प्रवेश गर्न नहुने मान्यता छ ।
सबरीमाला विवादमा केरलका मुख्यमन्त्री पिनराई विजयनले महिलालाई सुरक्षा प्रदान गर्नु सरकारको जिम्मेवारी भएको बताए । मन्दिरमा महिला प्रवेश गरेपछि श्रद्धालुको संख्या पनि घटेको बताइएको छ । यसअघि त्यहाँ दैनिक २ लाखसम्म श्रद्धालु आउन गरेकोमा अहिले घटेर १५ हजार भएको जनाइएको छ ।
बीजेपीले बुधबार प्रवेश गरेका महिला भक्त नभई माओवादी भएको दाबी गरेको छ । सीपीएमले केही प्रहरीको साथ लिए योजना बनाएर महिलालाई मन्दिर प्रवेश गर्न दिएको आरोप लगाएको छ ।