भारतको सिक्कीम सरकारले ‘एक परिवार एक रोजगारी’ अन्तर्गत एकसाथ १२ हजार युवाहरुलाई सरकारी जागिर दिएको छ।
पबन चामलिङ सरकारले महत्वाकांक्षी अभियानअन्तर्गत सरकारी जागिर नहुने प्रत्येक घरका सदस्यलाई जागिर दिने घोषणा गरेको थियो।यसअनुसार १२ हजारलाई अस्थायी रोजगारी दिइएको हो। अभियानअन्तर्गत २० हजार युवालाई रोजगारी दिने योजना रहेकोमा अब बाँकी ८ हजारलाई पनि चाँडै नियुक्तिपत्र दिइने जनाइएको छ।
मुख्यमन्त्री चामलिङले पाल्जोर रंगशालामा आयोजित रोजगार मेलामा सिक्कीमका ३२ विधानसभाका २–२ जनालाई नियुक्तिपत्र प्रदान गरेका थिए। त्यसअवसरमा उनले जागिर पाएका सबैलाई ५ वर्षपछि स्थायी गरिने वचन दिँदैं त्यसका लागि आफूहरुले नियम बनाएको बताए। उनले चौकीदार, माली, अस्पताल वार्डमा अटेन्डेन्ट, ग्राम पुलिसगार्ड र ग्राम पुस्तकालयध्यक्षसहित २६ विभिन्न पदमा नियुक्ति गरिएको बताए।
उनले अब बेरोजगारीको परिभाषा फेर्नुपर्ने भन्दै सिक्कीमा अब कोही पनि बेरोजगारीहुने स्थिति नरहेको बताए। चामलिङले भारतीय इतिहासमै सबैभन्दा बढी कार्यकाल मुख्यमन्त्रीको पदमा बस्ने व्यक्तिको रुपमा पनि रेकर्ड बनाएका छन्।