बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ।
प्रधानमन्त्री मेले युरोपेली संघ ईयुबाट बाहिरिनेबारे योजना संसद्ले अस्वीकृत गरेपछि त्यहाँ राजनीतिक अस्थिरता बढ्न सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका छन्।
उनको प्रस्तावमा २०२ सांसदले मात्र समर्थन गरेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। प्रस्तावको विपक्षमा प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका १ सय १८ जना सांसदले मतदान गरेका छन्। तर विपक्षी लेबर पार्टीका तीन सांसदले भने प्रस्तावको पक्षमा मतदान गरेका थिए। प्रधानमन्त्री मे ले आफ्नो योजना संसद्बाट पारित गर्न नसकेपछि ठूलो धक्का बेहोर्नुपरेको छ।
यहीबीचमा विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसद्ले प्रधानमन्त्री मे को ब्रेक्जिटसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि सरकारप्रति सदनको विश्वास नरहेको भन्दै अविश्वासको प्रस्ताव पेश गरेको बताए। ब्रेक्जिटका विषयमा नराम्रोसँग पराजित भएपछि प्रधानमन्त्री मे को राजनीतिक भविष्यलाई लिएर प्रश्नहरु उठ्न थालेका छन्।
तर, कतिपय सांसदले प्रधानमन्त्रीको एउटा प्रस्तावमा मात्र असहमति रहेकाले उनी प्रति अविश्वास गरिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन्। प्रधानमन्त्री मे ले सदनमा विश्वासको मत प्राप्त गर्न नसकेमा अर्को १४ दिनसम्म उनलाई पुनः विश्वासको मत प्राप्त गर्ने समय मिल्ने छ। त्यसबीचमा पनि कसैले विश्वासको मत प्राप्त गर्न नसकेमा बेलायतमा आम चुनावको घोषणा हुने बीबीसीले जनाएको छ।