युरोपेली युनियन (इयु) बाट अलग हुने बेलायती प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डील संसदबाट बहुमतले अस्विकृत भएको छ । संसदमा भएको मतदानमा मेको प्रस्तावको विपक्षमा ४३२ सांसद उभिएका थिए भने जम्मा २०२ सांसदले उनलाई समर्थन गरे ।
प्रधानमन्त्री मेलाई उनकै पार्टी कन्जर्भेटिभका सांसदहरुले समेत साथ दिएनन् । कन्जर्भेटिभका १ सय १८ सांसदहरुले विपक्षी दलसंग मिलेर ब्रेक्जिट डिलविरुद्ध मत दिएका थिए भने विपक्षी लेबर पार्टीका ३ सांसदहरुले डिलको समर्थन गरे ।
प्रधानमन्त्री मेको ऐतिहासिक हारपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गरेको छ । यो प्रस्तावमाथि आजै संसदमा छलफल हुने बताइएको छ । विपक्षी नेता जेरेमी कोर्बिनले भने, ‘प्रधानमन्त्रीको ब्रेक्जिट डिललाई संसदले अस्विकृत गर्नुको अर्थ हो सरकारले सदनमा विश्वास गुमाएको छ ।’
ब्रेक्जिट डिल मुद्धामा भएको पराजयको प्रधानमन्त्री मेको राजनीतिक भविष्यमा पनि प्रश्न उठेको छ । तर कयौं सांसद र टेरेजा मेको सरकारलाई समर्थन दिएका दलहरुले आफूहरुले प्रधानमन्त्रीको नभइ ब्रेक्जिट डिलको विरोध गरेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री मेले भने संसदमा विश्वासको मत पाए आगामी सोमबार ब्रेक्जिटबारे अर्को मस्यौदा संसदमा पेश गर्ने बताएकी छन् । आज सदनमा विश्वासको मत प्राप्त गर्न असफल भएमा आगामी १४ दिनभित्र संसदको विश्वासको मत हासिल गर्ने मौका उनलाई हुनेछ । यदि सरकार बन्ने अवस्था नभएमा बेलायतमा आमचुनाव घोषणा हुनेछ ।
मतदानअघि सांसदमा भावुक संबोधन गर्दै मेले ब्रेक्जिट डिलमाथिको मतदान आफ्नो राजनीतिक करिअरमा सबैभन्दा महत्वपूर्ण भएको बताइन् ।
अब प्रधानमन्त्री टेरेजाले अर्कोपटक आफ्नो योजना पेश गरेर संसदको सहमति लिन सक्नेछिन् र युरोपेली युनियनसंग दोस्रोपटक वार्ता गर्न सक्नेछिन् र नयाँ सम्झौताका साथ संसदमा आउन सक्नेछिन् । यस्तै, ब्रेक्जिटका बारेमा दोस्रोपटक जनमत संग्रह गर्ने विकल्प पनि छ । तर यस्तो केही भएन भनेपनि २९ मार्च, २०१९ मा बेलायत कुनै सम्झौताविना नै युरोपेली युनियनसँग अलग हुन सक्नेछ ।