मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको छ।
घटनास्थलबाट ट्वीटमा उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, “पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ भने ७६ जना गम्भीर रूपमा घाइते भएका छन्।”
यस अघि प्राप्त जानकारीमा मेक्सिकोको हिडाल्गो राज्यमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २१ रहेको र ७१ जना घाइते भएको बताइएको थियो।
स्थानीय समय अनुसार बिहीबार बेलुका ७ बजेतिर ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा भएको विस्फोटमा परी उनीहरूको मृत्यु भएको बताइएको छ।
श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेका समय आगलागी हुँदा पाइपलाईन विस्फोट भएको थियो। अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडरले घटनाप्रति दुःख व्यक्त गरे। “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन।” उनले भनेका छन्।
सरकारले घटनामा घाइते भएका सबैलाई सम्भावित उपचार उपलब्ध गराइरहेको बताइएको छ। गत बर्ष पाइपलाइन बाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो। घटनामा गम्भीर घाइते भएका नागरिकहरूको उपचार भइरहेको तर मृतक सङ्ख्या थप बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ।