थाइल्याण्डकी राजकुमारी उबोलरत्न राजकन्या आगामी मार्चमा हुने आमनिर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार हुने भएकी हुन् । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी थाइ रक्षा चार्ट पार्टीको उम्मेदवारको रुपमा उनी राजनीतिमा होमिएकी हुन् । ६७ वर्षीया राजकन्या वर्तमान थाइ राजा बज्रलंकर्णकी बहिनी हुन् । राजपरिवारको अचानक प्रवेशले थाइ राजनीतिले नयाँ मोड लिएको छ ।
राजकुुमारीका प्रतिस्पर्धी भने सेनाको समर्थित वर्तमान प्रधानमन्त्री प्रयुत चान ओचा छन् । उनले गत शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। थाई रक्षा चार्ट पार्टी प्रमुख प्रिचापन पोङपानिचले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी पदाधिकारीको बैठकपछि राजकुमारी राजकन्यालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको बताए । ‘उहाँ क्षमतावान र बौद्धिक हुनुहुन्छ,’ उनले भने ।
थाइ रक्षा चार्टपार्टी पूर्व प्रधानमन्त्री सिनावात्रा नेतृत्वको फिउ थाई पार्टीकै नयाँ रुप रहेको जनाइएको छ । उक्त पार्टीले सन् २००१ यताका सबैनिर्वाचन जित्दै आएको छ । आमनिर्वाचनबाट विजयी भएर प्रधानमन्त्री बनेका सिनावात्रालाई सेनाले २००५ मा कूमार्फत अपदस्थ गरेको थियो । ४ वर्षको सैनिक शासन पछि थाइल्याण्डमा आगामी मार्च २४ मा आमनिर्वाचन घोषणा गरिएको छ ।